कोरोना असर कि अवसर ?
- आशाका किरण
- शुक्र, चैत्र १४, २०७६
- 1512SHARES

लक्ष्मण श्रेष्ठ,माध्यमिक शिक्षक, श्री बालविकास माध्यमिक विद्यालय, आलापोट, काठमाण्डौँ ।
पृष्ठभूमीः सन् २०१९ को डिसेम्वरमा चीनको वुहानबाट फैलिएको कोरोना भाईरस(COVID-19)को असरले अहिले विश्व प्रताडित बनेको छ । संसारका ठूला महाशक्ति राष्ट्रले यसका अगाडि घुडा टेकेको अवस्था छ । चिनबाट शुरु भएको यो भाइरसमाथि चीनले विजय प्राप्त गरेता पनि यो समस्याले महामारीको रुपमा युरोप र अमेरिका लगायत सवैतिर तवाह मच्चाएको अवस्था विद्यमान छ । नेपाल जस्तो कमजोर स्वास्थ्य सुविधा र चिकित्सा पद्धति भएको मुलुकमा यसको रोकथामका लागी पूर्व सावधानीका उपाय अपनाउनुको विकल्प रहेको छैन । प्रकृतिमाथि विजय प्राप्त गर्ने गरि विज्ञानको चमत्कार गरेका र करोडौंको संख्याका नागरिकलाई क्वारिन्टिनमा राख्नेक्षमता भएका देशले समेत हार मानेको र दैनिक हजारौंको संख्यामा मृत्यु हुने अवस्था विद्यमान रहेकोले नेपालले सचेतता पूर्वक कदम चाल्नुको विकल्प नरहेको अवस्थामा नेपाल सरकारले संक्रमणलाई रोक्न, भाईरस प्रभावितलाई उपचार गर्न र रोग फैलन नदिन लकडाउन शुरु गरेको छ ।
जर्मन चान्सलर एन्जेला मर्केललाई यो भाईरसको संक्रमण देखिएको छ । बेलायतका राजकुमार चाल्र्सलाई यो भाईरसको संक्रमण देखिएकोछ । विश्व स्वास्थ्य संगठनले प्रकाशित गरिरहेको Novel Coronavirus (COVID-19) Situation, countries, areas or territories with cases को तथ्याङ्कले यो कति भयावह छ भन्ने देखाएको छ । यस्तो अवस्थामा हामी सवैले देशका लागि केही न केही गर्नैपर्ने अवस्था सृजना भएको छ । समस्या सँग डराएर भागेर होईन संयमता पूर्वक भावि पिढीका लागि केही न केही गर्नै पर्ने अवस्था सृजना भएको छ । नेपाल सरकारले २०७६ चैत्र ११ देखि १८ सम्म १ हप्ताको लकडाउन गरेको छ । स्थिति र अवस्थाको आधारमा यो लकडाउन २१ दिन सम्म लम्बिन सक्ने समाचारहरु आइरहेकै छन् । त्रिभुवन विश्व विद्यालय,नेपाल संस्कृत विश्व विद्यालय, काठमाण्डौं विश्व विद्यालय, पूर्वाञ्चल विश्व विद्यालय, पोखरा विश्व विद्यालय, विभिन्न अध्ययन संस्थान, प्रतिष्ठान, परिषद्, प्राविधिक शिक्षालय, क्याम्पस, आयोगहरु लगायतका सवै शैक्षिक संस्थाहरुका नियमित पठनपाठन अवरुद्ध भएका छन् भने सवै प्रकारका परीक्षाहरु स्थगित भएका छन् । यस्तो अवस्थामा लाखौं लाखको संख्यामा रहेको विद्यार्थी तथा शिक्षण पेशाका जनशक्ति घरमै बसीरहेका छन् । आफुसँग कहिले समय नहुने शिक्षक, विद्यार्थी, प्राध्यापक, वकिल, ईन्जिनियर, पेशा, व्यवसायीले प्रसस्त समय पाएका छन् । यो फुर्सदको समयलाई प्रभावकारी रुपमा प्रयोग गर्ने सन्यन्त्रको विकासगर्न तत्काल आवश्यक देखिएको छ ।
यो बेलामा सिकाईलाई कसरी लाने ?
विद्यालय, महाविद्यालय, क्याम्पस र विश्व विद्यालयका विभिन्न तह र कक्षामा पढ्ने विद्यार्थीहरुले अध्ययन गरेका र घरमा भएको पुस्तकहरुको पुस्तकालय बनाई पढ्ने तालिका निर्माण गर्ने र पढेका पुस्तकमा भएका कुराहरु तथा सो बाट सिकेको कुराहरु एकापसमा शेयरिङ्ग गर्ने वातावरण बनाउँदा स्वअध्ययन वढ्छ र सिकाई व्यवहारिक र दीगो हुन्छ । भएका पुस्तकहरु सवैले बाँढेर पढेमा एकै पटकमा धेरै पुस्तकहरु पढ्न सकिने मात्र नभई अरुले पढेका पुस्तकका ज्ञान समेत प्राप्त गर्न सकिन्छ । साथै माथिल्लो कक्षामा पढेका व्यक्तिले तल्लो कक्षामा पढ्नेलाई सिकाउने र कमजोर विषयमा तयारी गर्ने गराउने गर्नुपर्दछ ।
परिवारभित्रको कुन काम ? कस्ले ? कहिले ? कसरी गर्ने ? भन्ने विषयमा समय तालिका बनाएर लागू गर्ने गर्नुपर्दछ । कामको बाँडफाँड तथा अध्ययन तालिका परिवारका सदस्यहरुले देख्ने ठाउँमा टाँस्ने र त्यसको नियमित फलोअप गर्ने गराउने बानीको विकास गर्नुपर्दछ । परिवारका सदस्यहरुका असल र खराव पक्षका बारेमा लिखित वा मौखिक सल्लाह लिने र दिने, नराम्रो बानी व्यहोरा सुधारका लागि परिवारले योजना बनाई लागूगर्ने गरेमा जीवनमा धेरै सकरात्मक प्रभाव पर्दछ । अध्ययन अध्यापनका लागि वर्ष भरी गर्ने र गर्न सकिने कामको कार्ययोजना बनाई लिपिवद्ध गरेमा योजना निर्माण र प्रयोगका लागि आवश्यक क्षमताको बिकास हुन्छ। निर्माण गरिएको योजनालाई समय क्रममा राख्न लगाउने गरेमा कुन काम कुन महिनाको कुन हप्तामा गर्ने भन्ने कार्ययोजना स्पष्ट बन्दछ ।आफुलाई चाहिने चार्ट, क्यालेण्डर, वार्षिक कार्ययोजना, शैक्षिक सामग्रीको निर्माण र सुरक्षित भण्डारण गरेमा अध्ययनको पूर्वतयारी सम्पन्न हुन्छ ।
बृद्ध बृद्धाहरु भन्दा युवाहरु र युवाहरु भन्दा अहिलेका विद्यालय तहका वालबालिकाहरु कम्प्युटर, ल्यापटपको प्रयोगमा चनाखो समेत हुने भएकोले उनीहरुलाई कम्प्युटर तालिम, अनलाईन शिक्षा, आईसिटी र अन्य प्रोग्राम सिक्ने र सिकाउने विषयमा केन्द्रीत गराउनु पर्दछ । एन्रोइड मोबाईल फोनहरु, स्मार्ट फोनहमा एपस्टोर तथा प्लेस्टोरबाट विभिन्न एप्लिकेशनहरु डाउनलोड गरि शब्द भण्डार, व्याकरण, साहित्य, कथा, कविता, शब्दजाल, उखान टुक्का, विभिन्न भाषा तथा सीपहरु सिकाउनु पर्दछ ।विद्यार्थीका रुचीका विषयमा तथा उनीहरु कमजोर भएका विषयमा भिडियो कल, टेलि कन्फरेन्स, ईमेल,फोन आदिका माध्यमबाट बालवालिकाहरुलाई सबल र सक्षम बनाउने र कमजोरीहरु हटाउने काम गर्नुपर्दछ ।
विज्ञान र प्रविधिको प्रयोगगरी घरैमा बसेर कसरी सिक्न सकिन्छ भन्ने विषयमा तयारी गर्नुपर्दछ । रमाईलो वातावरणमा, मनोरन्जन र प्रतिष्पर्धालाई समेत मिसाएर घरायसी काम गराउनुपर्छ ।शिक्षाका सफ्टवेयरहरु सिक्न र सिकाउनका लागि समयको व्यवस्थापन गर्नुपर्दछ । हरेक व्यक्तिमा रहेका क्षमतालाई प्रयोग गरी ज्ञान, सीप र अवधारणालाई विकास गर्ने व्यवस्था मिलाउनु पर्छ । व्यक्तिमा रहेका कमी कमजोरी तथा दुर्वल पक्षलाई हटाउन व्यक्तिगत योजना बनाई कार्यान्वयन गर्नुपर्दछ ।
आउँदो शैक्षिक सत्रको लागि तयारी गर्ने, अघिल्लो वर्षका त्रैमासिक परीक्षाका प्रश्नहरु, वार्षिक परीक्षाका प्रश्नहरु जम्मा गरी समाधान गर्ने, नोटहरु बनाउने तथा नबुझेका कुराहरु, समाधान गर्न नसकेका विषयका जिज्ञासाहरु फोन, ईमेल, सामाजिक संजाल, युट्युव आदिबाट सिक्ने सिकाउने वातावरण बनाउनु पर्दछ।नेपालको भूगोल, इतिहास, संस्कार, सँस्कृति, अर्थतन्त्र आदिका वारेमा छलफल गराउने र जानेका कुराहरु शेयरिङ्ग गर्नु पर्दछ । अनलाईन, अफलाईन तथा भर्चुअल सिकाईलाई व्यवस्थापन गर्नुपर्दछ । घरका अभिभावक तथा बाबुआमाको प्रत्यक्ष निगरानीमा भर्चुअल समूह वा सामाजिक संजालमा कक्षा संचालन र व्यवस्थापन गरी सिक्ने सिकाउने वातावरण सृजना गर्नुपर्दछ ।कार्यमुलक अनुसन्धान, परियोजना कार्य, घटना अध्ययन जस्ता कृयाकलापमा आफु संलग्न हुने र विद्यालय उमेरका बालवालिका तथा कलेज समूहका व्यक्तिहरुलाई संलग्न गराउनु पर्दछ ।
घर वाहिर सम्भव हुने र भिडभाड नहुने तथा परीवारका सदस्यहरुवीच विभिन्न गेमहरु खेलहरु खेलाउन सकिन्छ । घरभित्रका इन्डोर गेमहरु खेलाउने र मनोरञ्जनको अवसर लिने दिने वातारवरणले विद्यार्थीमा स्फुर्ति आउँछ र मनमा कोरोना भाईरसको वारेका रहेका त्रासहरुकम हुन्छ । बाबुआमा र परिवारका अभिभावकहरुले नपढेमा बालवालिकाहरुले समेत नपढ्ने भएकोले आफुले पनि घरमा अध्ययन गर्ने बानीको विकास गर्न जरुरीछ । आफुलाई रुची भएका पुस्तकहरु वा अन्य केही नभएमा बालविालिकाहरुका अगाडि पुरानै पत्रपत्रिका, कथा वा उपन्यासका पुस्तकहरु पढ्ने गर्नुपर्दछ । उनीहरुको रुची अनुसार पिक्चर बुक, खेलकुद, गीत,सङ्गीत, टेली सिरियल, चलचित्र, भिडिओ, टेलिभिजन, समाचार आदि हेर्ने समयको व्यवस्थापन गर्नुपर्दछ । दैनिक कार्यतालिकामा रहेका कार्यसुचीका कृयाकलापहरु विहान उठे देखि सुत्ने बेलासम्मको समयको व्यवस्थापन सहजीकारण गर्ने गर्नुपर्दछ ।
स्वाईन फ्लु, डेंगु, सार्स, स्पेनिस फ्लु, हन्ता, कोरोना भाईरस आदिको तुलनात्मक अध्ययनका पक्षमा ध्यान दिनु पर्दछ । यी रोगहरुको वारेमा बास्तविकता बताईदिनु पर्दछ । यी भाईरसहरुको ईतिहास, प्रकृृति, स्वभाव यसका असर आदिका वारेमा अध्ययन गर्ने,यथार्थ पत्तालगाउने तथा वास्तविक ज्ञान लिने दिने गर्न सकिन्छ ।नोवेल कोरोना भाईरस सम्वन्धि सकरात्मक जनचेतना मूलक सन्देश दिने गर्न सकिन्छ । सतर्कताका साथ सावधानीका उपायहरुका बारेमा जानकारी लिने दिने गर्नुपर्दछ ।यसकालक्षण, सर्ने तरिका, वच्ने तरीका, पूर्व सावधानी आदिका बारेमा अनलाईन खवरहरु, फेसबुक, ट्वीटर लगायतका सामाजिक संजाल, धेरै सोधिने प्रश्न र यसका उत्तरका वारेमा सुचना प्रवाह गर्ने तथा गलतफहमी, अफवाहको खण्डन गर्नुपर्दछ ।कुन भाईरस कसरी सर्छ ? माध्यम के हो? आदिका बारेमा जनचेतना लिन दिन शिक्षा क्षेत्रका जनशक्ति तथा विद्यार्थीहरु बहुृृउपयोगि हुन्छ ।
स्थानीय तह, प्रादेशिक तह र संघीय तह तथा सो मातहतका शाखाहरुसँग समन्वय गरी सकरात्मक सुचना प्रवाह गर्नुपर्दछ । बाल क्लवहरु,युवा क्लवहरु, सामाजिक संघ संस्थाहरुलाई पनि यो काममा परिचालन गर्न जरुरी छ । वुढा पुस्ताभन्दा युवा पुस्ता वढि जानकार र सक्षम हुने भएकोले जनचेतनामुलक नाटक, स्टाटस, सकरात्मक कथा वाचन, कविता वाचन, साहित्यिक कार्यक्रमहरुलाई इन्टरनेट तथा सुचना संचारका अन्य माध्यमहरु प्रयोग मार्फत सचेत बनाउने काममा विद्यार्थी वर्गलाई प्रयोग गर्नसकिन्छ ।सरकारी र गैर सरकारी निकाय, एनजिओ, आईएनजिओले यस्ताकार्यहरुमा हातेमालो गर्ने वातावरण बनाउनु पर्दछ ।
अनावश्यक हल्ला र गलत अफवाहको विरुद्ध मिलेर भ्रम चिर्नु पर्छ । यो कामलाई सामुहिक कामको रुपमा विकास गर्नु गराउनु पर्दछ ।स्वास्थ्य निकायहरु, क्लिनिक, अस्पताल, नर्सिङहोम, अध्ययन संस्थाहरुलाई सहजीकरण गर्ने गराउने काममा विद्यार्थी तथा अभिभावकहरुको भूमिका वढाउनु पर्छ । विविध माध्यमबाट ज्ञान लिने, ज्ञान दिने, सुचना लिने, सुचना दिने र सचेतना फैलाउने काम गर्नुपर्छ ।

नेपाली सेना, जनपथ प्रहरी, शसश्त्र प्रहरी र सुरक्षा निकायका कामहरुलाई अनलाइन मार्फत, सोसल मिडिया मार्फत, टेलीफोन आदि विविध साधनहरुका माध्यमबाट सहजीकरण गर्ने, सही सुचना प्रवाह गर्नु गराउनु पर्दछ ।चोरी, लुटपाट, डकैती, कालाबजारी नियन्त्रणका लागि भए गरेका सामुहिक प्रयासमा हौसला दिने र आवब्यक संयन्त्र निर्माणमा सल्लाह सुझाव लिने दिने तथा सकरात्मक सहभागिता जनाउनुपर्दछ। विद्यार्थी समाज परिवर्तन र चेनताका वाहक पनि भएकोले समाज टोल र वस्तिको आशाको रुपमा रहने हुँदा उनीहरुको समय र उर्जालाई सही रुपमा प्रयोग गर्ने कामहरु गर्नुपर्दछ ।
घरका झ्याल, ढोका, खापा, छेस्किन चुकु, चौकोश, मेच, फर्निचर, आग्लो, गजवार मर्मत गर्ने,कोठाहरु रंगरोगन तथा सरसफाई गर्नेकाममा संलग्न गराउनुपर्छ । परिवारका सदस्यहरु र बालवालिकाहरुलाई घरको सरसफाई तथा अन्य काममा सँगै लगाउने गर्नुपर्छ ।रोगसँग लड्ने प्रतिरक्षा क्षमता वढ्ने खानाहरु के के हुन्? ती खानाहरु के ?कति मात्रामा? कसरी खाने?जस्ता विषयमा एकापसमा ज्ञानको प्रसार गर्ने एकापसमा हौसला लिने दिने, सकरात्मक सोचको विकासगर्ने जस्ता कामहरु गर्नुपर्छ ।
संक्रमण के हो? किन र कसरी हुन्छ?यसको समाधानको उपाय के हो? रोग प्रतिरक्षाका लागि के खाना खाने? कति मात्रामा खाने? कुनै खानेकुराहरु प्रत्युपादक त छैन? जस्ता कुराहरुमाा विचार पुराउने र सही जानकारी शेयरिङ्ग गर्नुपर्दछ । इरान लगायतका कतिपय ठाउँमा कोरोनाको उपचार रक्सि खाएर हुन्छ भन्ने गलत सुचना र जानकारीले गर्दा विशाक्त मदिरा सेवनले धेरैले जीवन गुमाएको कुरालाई उदाहरणका रुपमा लिन सकिन्छ। तसर्थ यस्ता विषयहरुमा सचेतना फैलाउनु आवश्यक छ । नमुनाको लागि,धुम्रपानले कोरोनालाई सहयोग गर्न सक्छ? कि कोरोनालाई समाप्त पार्न सक्छ?कोरोनाको संक्रमण वढ्न सक्छ ? कि घट्न सक्छ? यसबारेमा एउटा आधिकारीक आलेख हेरौं ।
Q&A on smoking and COVID-19
24 March 2020 | Q&A
Are smokers and tobacco users at higher risk of COVID-19 infection?
Smokers are likely to be more vulnerable to COVID-19 as the act of smoking means that fingers (and possibly contaminated cigarettes) are in contact with lips which increases the possibility of transmission of virus from hand to mouth. Smokers may also already have lung disease or reduced lung capacity which would greatly increase risk of serious illness.Smoking products such as water pipes often involve the sharing of mouth pieces and hoses, which could facilitate the transmission of COVID-19 in communal and social settings.Conditions that increase oxygen needs or reduce the ability of the body to use it properly will put patients at higher risk of serious lung conditions such as pneumonia.
विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको यो विषयले के कुरा स्पष्ट हुन्छ भने धुम्रपानले त कोरोनालाई वढाउने रहेछ , भने पछि यही मौकामा धुम्रपानलाई पनि छुटाउने वा कमगर्ने उपायहरु अपनाउन सकिन्छ । यसलाई अवसरका रुपमा लिई धुम्रपान, मद्यपान तथा नशालु पदार्थ, खैनी सुर्ती, गुट्खा, जाँड रक्सिको समस्यालाई दीर्घकालिन रुपमा हल गर्न सकिन्छ ।यसको बारेमा विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुलाई प्रयोग गर्न सकिन्छ ।स्नान घर, शौचालय, पानीको श्रोतहरु, मुल, ट्याङ्कि, धारा, ईन्सिनेरेशन,इनार आदि सरसफाई लगायतका घरायसी काममा बालवालिकाहरुलाई व्यस्त गर्ने गराउने काम गर्ने गर्नुपर्दछ । व्यक्तिगत सरसफाईमा संलग्न गराउन सकिन्छ ।
लकडाउन के हो? कर्फ्यू के हो ? होम आईसोलेसन के हो ? जस्ता विषयहरु तथा यसको व्यवहारिक प्रयोगका वारेमा छलफल गर्ने र सो वारेमा ज्ञान, सुचना लिने दिने गर्न सकिन्छ । अती आवश्यक वस्तु तथा सेवाहरु के के हुन्? दीर्घरोगी सदस्य परिवारमा भए औषधीको जोहो कसरी गर्ने जस्ता विषयमा प्रयोगात्मक ज्ञान दिनु पर्दछ ।
घरका कम्पाउण्डका तार–जाली, झ्यालका तारजाली, घेरावार, वाल कम्पाउण्डमर्मत, कौशी खेति, रेनवाटर हार्भेष्टिङ्ग तथा करेसावारी खनजोत आदिका कामहरु गर्न सकिन्छ । त्यस्तै फुलवारी, वगैचा, हरियाली वातारवरण, गमला व्यवस्थापन लगायत अन्य कामहरु गर्ने गराउने गरेमा मानिस व्यस्त र मस्त रहन्छ । फुटेका पाईप, विग्रेका धाराको टुटी, वाथरुमको बचेखुचेका अन्य मर्मत सम्वन्धि काम, पानी चुहिने ढलान, छत, जस्तापाता, छाना मर्मत लगायतका कामहरुमा संलग्न गराउनु पर्दछ । यो समयमा फोहोर संकलन गर्ने ट्रकहरु नआउने हुनाले फोहोर व्यवस्थापनका लागित यारी गर्ने, वकेट, खाल्डोको व्यवस्था वा संकलन गर्ने ठाउँको तयारी गर्ने आदि काममा लागेमा रोगहरुको संक्रमण पनि हुदैन घर सफा हुन्छ र समय सही र सकरात्मक काममा व्यतित हुन्छ ।
यही समयमा पाक शिक्षा सँग सम्वन्धित विभिन्न भान्साका परिकारहरु बनाउने, अचार बनाउने, खेर जाने सामानबाट पुनः प्रयोगका सामान बनाउने लुगा धुने, इस्त्रि लगाउने,जुत्तामा पालिस लगाउने ,जुत्ताको लेस बान्ने कलाहरु सिकाउने, सामान्य सिलाईका कामहरु गर्ने, टाँक घर बनाउने, खुक्केका टाँक लगाउने, छ्वाली, बाँस, बेतवास, परालका सामग्रीहरु बनाउने, चित्रहरु कोर्ने, पेन्टिङ्ग गर्ने, कागजका कामहरु, बेडलेसहरु बनाउने, टोपी तथा मोजा बनाउने, सिलाई तथा बुनाईका अन्य कामहरु गर्ने तथा अन्य जीवनोपयोगी सिपहरु सिक्ने सिकाउने गर्न सकिन्छ ।
उपसंहार
हामी सवै राज्य हौं, सरकारका पदासिन व्यक्तिहरु मात्र होईन हामी सवैको सामुहिक प्रयासबाट नै यो समस्याबाट मुक्ति पाउन सकिन्छ । सवै पेशा व्यवसायमा लागेका मानिसहरुमा क्रियाशिलता आउन जरुरी छ । चिकित्सा तथा स्वास्थ्य क्षेत्रका मानिसहरुको मनोबलको वृद्धि गर्ने, शान्ती सुव्यवस्था कायम गर्ने र समाजलाई उत्साह दिन अनवरत लाग्नुको विकल्प छैन । सर्वसाधरणलाई सचेत र सूचित गर्ने, उनीहरुको दिनचर्यामा मल्हम पट्टि गर्नेकाम शिक्षा क्षेत्रका व्यक्तिहरुले मात्र गर्न सक्छन् । जिन्दगीबाट हात धुनु भन्दा आफ्नै हात धुनु राम्रो हो ।तसर्थ यस बारेमा सवैमा सतर्कता, सचेतना जगाउन शिक्षा क्षेत्रका मानिस बरावर कसैले सक्दैन । व्यक्तिगत सरसफाई, उपचार पद्धति, मानसिक तन्दुरुस्ती जस्ता विषयमा शिक्षा दिनुजरुरी छ । सर्वसाधरणलाई आतंकित नहुन, भ्रमित नहुन, चिकित्सकमा उच्च मनोबल कायम राख्न हामी सवै लाग्न जरुरी छ । स्थानीय सरकार, प्रदेश सरकार तथा संघिय सरकारसँग समन्वय र सहकार्य गरि परिवारका सदस्यहरु त्था क्षमता भएका व्यक्तिहरुको व्यक्तिगत प्रयासमा धेरै काम गर्न सकिन्छ । लकडाउनको यो समयको सदुपयोग गर्न सके विद्यालय, महाविद्यालय र क्याम्पस तथा विश्वविद्यालयको मात्र नभई सिंगो देशको औपचारिक तथा अनौपचारिक तथा खुल्ला शैक्षिक वातावारणमा धेरै उपलव्धी प्राप्त गर्न र क्षति कमगर्न सकिन्छ ।
स्रोतहरुः
https://experience.arcgis.com/experience/685d0ace521648f8a5beeeee1b9125cd
नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रको पेसा व्यवसाय र प्रविधिका विभिन्न कक्षाका पाठ्यपुस्तकहरु
https://www.who.int/news-room/q-a-detail/q-a-on-smoking-and-covid-19
कान्तिपुर टिभी https://www.youtube.com/watch?v=XHLmCrlX9Mo
https://farakdhar.com/story/26187/
- आशाका किरण, शुक्र, चैत्र १४, २०७६
No comments:
Post a Comment